काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा गौशाला २६ लाई क्षतिपूर्ति भराउन आदेश गरेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले सोमवार क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कार मुद्दामा पीडितलाई १ लाख रुपैयाँ अन्तरिम क्षतिपूर्ति भराउन आदेश गरेको हो ।
सोमवार गरिएको आदेशमा भनिएको छ, ‘प्रस्तुत निवेदनमा पीडितले सम्मानित सर्वोच्च अदालतको आदेश बमोजिम आफ्नो मानसिक तथा शारीरिक स्वास्थ्य उपचारको लागि मात्रै अन्तरिम क्षतिपूर्ति माग गरेको पाइन्छ भने आज आभासको क्रममा निवेदकतर्फबाट बहस गर्नुहुने विद्वान कानून व्यवसायीहरूले पीडित/निवेदिकाको हालसम्म सो मानसिक तथा शारीरिक उपचार गराउँदा करिब ७० हजार खर्च भएको भन्ने कुरा इजलासलाई जानकारी गराउँदै सोको विवरणसमेत पेश गरेको पाइयो । प्रस्तुत मुद्दामा प्रमाण बुझ्ने कार्य करिब अन्तिम चरणमा पुगी निकट भविष्यमा नै निर्णय हुने अवस्थामा पुगेको देखिएकोले पछि मुद्दामा ठहरे बमोजिम हुने नै हुँदा हाल निवेदकको सो उपचार गराउँदा हुने न्यूनतम खर्च समेतलाई मध्यनजर गरी हाल पीडित/निवेदकलाई अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा २९ बमोजिम १ लाख रुपैयाँ तत्काल पीडित राहत कोषबाट उपलब्ध गराउनू भनी आदेश गरिदिएको छ । नियमानुसार गर्नू ।’
यसअघि नै सर्वोच्च अदालतले सरकारी पीडित राहत कोषबाट पीडितलाई क्षतिपूर्ति दिलाउन आदेश गरेको थियो ।
पीडीत गौशाला २६ले मासिक ५० हजार रुपैयाँ वा एकमुष्ठ १० लाख रुपैयाँ क्षतिपूर्ति माग गरेकी थिइन् । पीडितको तर्फबाट बहस गरिरहेकी वरिष्ठ अधिवक्ता शशी अधिकारी भने तत्काल १ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउन आदेश हुनुले पनि अदालतले पीडित भएको कुरालाई स्वीकार गरेको बताउँछिन् ।
पीडितलाई शारीरिक क्षतिका साथै मानसिक क्षतिसमेत परेकाले पीडितलाई सरकारी कोषबाट अन्तरिम राहत दिनू भनेर सर्वोच्च अदालतले पनि उनलाई पीडित भनेर स्वीकार गरेको उनले बताइन् । ‘हुन त यसअघि नै सर्वोच्च अदालतले नै पनि गौशाला २६ लाई पीडित भनेर स्वीकार गरेकै थियो,’ अधिकारीले लोकान्तरसँग भनिन्, ‘प्रतिवादी सन्दीप लामिछाने नेपाली क्रिकेट टिमको क्रिकेटर भएको हुनाले क्रिकेट खेल्न दिने मनसायका साथ विदेश जान अनुमति दिएको हो । त्यही बेला सर्वोच्चले नै पनि पीडित हो भन्ने स्वीकार गरेर नै सरकारी राहत कोषबाट पीडितलाई क्षतिपूर्ति दिलाईदिनू भनेर आदेश गरेको थियो ।’
अब शुरुमै आदेश भए पीडितले बढी रकम क्षतिपूर्ति पाउन सक्ने अवस्था हुन्थ्यो, तर आलटाल गरेको हुँदा क्षतिपूर्तिसम्बन्धी आदेश आज आउँदा कम रकम पाउने भएको उनले बताइन् ।
पीडितको उपचार भइरहेको नर्भिक अस्पतालले पनि पीडितको उपचारमा कति खर्च लाग्ने यकिन गर्न नसकिने भन्ने अदालतमा लेखी पठाएपछि पीडितले मासिक ७० हजार रुपैयाँ मागेको उनले बताइन् । अहिले महिनामा कम्तीमा पनि ७० हजार रुपैयाँ खर्च भइरहेको उनको दाबी छ । ‘पीडितको मानसिकदेखि शारीरिक तनाव भएको छ,’ उनले थपिन्,’ अहिले भएको आदेश अन्तिम भने होइन । पछि फैसला हुँदाको बखतमा पीडितबाट थप क्षतिपूर्ति भराउन फैसला हुनसक्छ ।’
२०८० असार ७ गते नर्भिक अस्पतालको सामान्य प्रशासन विभाग प्रमुख विमल बोगटीले काठमाडौं जिल्ला अदालतमा पीडितको उपचार खर्चबारे लिखित रुपमा जानकारी दिएका छन् ।
पीडित गौशाला २६ को उपचार गर्दा बिरामीको मानसिक तथा शारीरिक परीक्षण प्रति डाक्टर कन्सल्टेसन १ हजार ४७ रुपैयाँ तथा प्रति साइकलोजिकल काउन्सलिङ १५ सय रुपैयाँ रहेको उक्त पत्रमा उल्लेख छ ।
बिरामीको उपचार वापत के कति खर्च लाग्ने भन्ने विषय रोगको प्रकृति, परिमाण समेतका आधारमा फरक–फरक हुने हुँदा रोग पत्ता नलागी उपचार मूल्य यकिन हुन नसक्ने नर्भिकको पत्रमा उल्लेख गरिएको छ ।