चित्त बुझेन भने गठबन्धन फेरिन्छ : गगन थापा

 काँग्रेस     २०८०, ९ असार शनिबार १३:५८     74 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्ने गरी काम नगरे गठबन्धन फेरिने चेतावनी दिएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन ठिक ढंगले चलेन र चित्त बुझेन भने गठबन्धन फेर्ने कुरा नौलो नभएको बताए। नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ की भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको उनको भनाइ छ। सरकार छोड्नपरे पनि नडराइकन एक्लै चुनाव लड्न कांग्रेसले सक्नुपर्नेमा थापाले जोड दिए।

‘हाम्रो पार्टीका लागि मान्छे ज्यान गए जाओस्, काँग्रेस छोड्दिन भन्छ भने आज हामी सरकार गए जाओस् भन्न नसक्ने ? जाओस् न त सरकार । ५ वर्ष जाओस्, १० वर्ष जाओस् । हेर्दा सानो देखिन्छ । हामीले प्रायश्चित गर्नैपर्छ की हामीले हाम्रो सरकार नबन्ला, अरुको सरकार बन्ला भन्ने डरले चुनावअघि नै गठबन्धन गर्यौं। चुनाव पछाडि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो । हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठिक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ। नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन,’ उनले भने।

महामन्त्री थापाले समाजवादी मोर्चामा अझै एमाले पनि थपिएर कम्युनिष्टहरु एकै ठाउँमा भएपनि कांग्रेसलाई फरक नपर्ने जिकिर गरे। निर्वाचन प्रणालीका कारण प्रदेशमा समेत गठबन्धन भइरहेको तर्क गर्दै उनले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणाली राख्न नहुने बताए।

‘जताततै प्रदेशमा तल–माथि सबैतिर गठबन्धन किन भइरहेको छ ? यसको एउटा कारण भनेको हाम्रो निर्वाचन प्रणाली हो । हामीले यस्तो निर्वाचन प्रणाली किन बनायौँ ? मिसिएको निर्वाचन प्रणाली हामीले संसद समावेशी बनाउन बनाएका हौँ । हाउस समावेशी बनाउने अरु तरिका पनि छन्,’ थापाले भने। फोटो : फाइल