नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने बताएका छन् ।
बुधबार ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आजको सन्दर्भमा योगले समृद्ध नेपाल र सुखी नेपालीको कुरा गरिरहेको बताए ।
मान्छे सम्मानित जीवन बाँचोस्, अभावरहीत बाँचोस्, सम्पन्न र विज्ञान प्रविधिले उपलब्ध गराएका आजका सुविधा, सहुलियतहरू सबै प्रयोग गर्न सक्ने गरी बाँचोस् भन्ने अहिलेको आवश्यकता भएको ओलीको भनाइ छ ।
‘मान्छे सम्मानित जीवन अभावरहीत, भोकमरी रहीत सम्पन्न र विज्ञान प्रविधिले उपलब्ध गराएका आजका सुविधा, सहुलियतहरु सबै प्रयोग गर्न पनि चाहन्छ र सुरक्षित हुन चाहन्छ । सम्मानित जीवन बाच्न चाहन्छ । समान भएर अरु बराबरको छु है भन्ने हिसाबले बाच्न चाहन्छ । त्यसकारण हामीले समृद्ध नेपाल, सुखी नेपाली भनेका हौँ,’ ओलीले भने, ‘योगले भनेको त्यही हो । योगले भनेको समृद्ध नेपाल, सुखी नेपाली हो आजको सन्दर्भमा योगले गर्न खोजेको कुरै त्यही हो । योगले नेपाललाई समृद्ध बनाउन खोजेको हो, नेपालीलाई सुखी बनाउन खोजेको हो ।’
ओलीले नेपालबाटै ज्ञान उत्पत्ति भएको बताए । योगको उत्थान गरेर अघि बढ्न जरुरी रहेको उनको भनाइ छ । फोटो : फाइल