धनगढी । बझाङमा जीप दुर्घटनामा परेर सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी र भाउजूको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ । दुर्घटनामा मन्त्री सिंहकी पत्नी अमृता र भाउजू जयादेवी सिंहको मृत्यु भएको घटनास्थलमा रहेका सशस्त्र प्रहरीका डीएसपी नेत्र केसीले बताए ।
घाइते सिंह, उनका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई उपचारका लागि नेपालगन्ज लगिएको डीएसपी केसीले बताए । मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा मंगलबार दिउँसो दुई बजेतिर केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटना भएको थियो ।