काठमाडौं । सहरी विकासमन्त्री सीता गुरुङले काठमाडौंको गुह्येश्वरीमा निर्माण गरिएको ‘फोहोर पानी प्रशोधन प्लान्ट’ को अनुगमन गरेकी छन् । शनिबार बिहान आफ्ना मन्त्रालयका सचिव नविन्द्रनाथ श्रेष्ठसहितको टोली लिएर गुह्येश्वरी पुगेकी मन्त्री गुरुङले सो प्लान्टको अनुगमन गरेकी हुन् ।
उक्त प्लान्टको राम्रो पक्षको प्रचार–प्रसार गर्न र प्लान्ट निर्माणको क्रममा भएका कमजोरी पुनः दोहोरिन नदिन आफूले सो प्लान्टको अनुगमन गरेको मन्त्री गुरुङले बताइन् ।
सरकारले अन्य ७ वटा त्यस्तै खालको प्लान्ट निर्माण गर्ने चरणमा रहेकाले त्यसलाई प्रभावकारी ढंगले अघि बढाउन पनि यस प्लान्टबाट सिकेर अघि बढनु उपयोगी हुने समेत स्पष्ट पारिन् । मन्त्री गुरुङले सो प्लान्टबाट मात्रै वाग्मती नदीको पानी सफा हुन्छ भन्ने सोचाई राख्न नहुने बताइन् ।
ढललगायत अन्य बस्तुहरूको उचित व्यवस्थापन गरेमात्रै वाग्मती नदीलाई सफा राख्न सकिने उनको भनाइ छ ।