काठमाडौँ । बाल सेना दुरुपयोग लगायतका आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सपना प्रधान मल्लको इजलासमा सुनुवाइ हुँदैछ । पूर्वअयोग्य लडाकु लेनिन विष्टसहितले दायर गरेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।
पूर्व बाल सैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भएको बाल सैनिक अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएको तत्कालीन नेतृत्वलाई कारबाही गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका थिए । तर सर्वोच्च अदालतले उक्त रिट दरपीठ गरेपछि विष्ट दरपीठविरुद्ध सर्वोच्च पुगेको थिए ।
विष्टले आफ्नो रिटमा तत्कालीन नेकपा माओवादीको नेतृत्वकर्ताहरू पुष्पकमल दाहाल (प्रचण्ड), डा.बाबुराम भट्टराई लगायतका नेताविरुद्ध बाल सैनिक प्रयोग गरिएको भन्दै कारबाहीको माग गरेका छन् ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराई लगायतविरुद्ध आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो । पूर्व बालसेना तथा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्ट, बहिर्गमित जनमुक्ति सेनाकै संस्थापक संयोजक कृष्णप्रसाद दंगाल लगायतले प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्रीसमेत रहेका डा। भट्टराईका अतिरिक्त गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग लगायतलाई विपक्षी बनाइ मुद्दा दायर गराएका हुन् ।