नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरी र उनकी श्रीमती तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
सोमबार बिहान भएको उनीहरूबीचको भेटवार्तामा सुदूरपश्चिम सरकार, समसायिक राजनीतिकलगायत विषयमा छलफल भएको बताइएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा उनीहरूले पूर्वसहमति अनुसार सुदूरपश्चिम सरकारमा दुईमन्त्री र एक राज्यमन्त्री दिन माग गरेको छ । जवाफमा प्रधानमन्त्री प्रचण्डले नाउपासँग भएको सहमतिअनुसार नै मन्त्रालय उपलब्ध गराउने प्रतिबद्धता जनाएका बताइएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पछिल्लोपटक ६ जेठमा नाउपालाई बाहिरै राखेर मन्त्रीमण्डल विस्तार गरेका थिए ।
मुख्यमन्त्री शाहले नाउपालाई एक मन्त्रालय दिएर मन्त्रीमण्डलमा सहभागी गराउने तयारीमा थिए । तर पूर्वसहमति अनुसार मन्त्रालय भागवण्डा नभएको भन्दै नाउपा सरकारमा सहभागी भएन ।