कोशी प्रदेशमा भएको घटनाप्रति ओलीको माओवादीप्रती आक्रोश, ‘अब एमालेले दनक दिन्छ’

 कोशी प्रदेश     २०८०, २६ जेष्ठ शुक्रबार ०७:३२     76 जनाले पढ़िसके



Spread the love

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा पहिचानवादीका नाममा सत्ता संरक्षित केही गुण्डाहरूले आतंक मच्चाएको भन्दै एमालेले तयारीका साथ जवाफ दिने चेतावनी दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पहिचानवादीका नाममा एमालेका सांसद र जनप्रतिनिधिहरुको हत्या प्रयास भएको भन्दै अब एमाले आफैंले तयारीका साथ दनक दिनु पर्ने भएको बताएका हुन् ।

‘पाँच–सात जना गुण्डाहरू छन्, मोटरसाइकल चढेर जता पनि जान्छन् र आक्रमण गर्छन् । उनीहरूलाई सत्ताको संरक्षण छ । आज हाम्रा नेता राम रानालाई इलाममा मोबिल छर्केर आगो लगाउने प्रयास गरे । उपसभामुख सिर्जना दनुवार र गाइघाटकी उपमेयरको हत्या प्रयास भएको छ । प्रचण्डपथका यी गुण्डाहरूलाई एमालेले तयारीका साथ दनक दिनुपर्ने भयो । आफ्ना कार्यकर्ताको रक्षा गर्न एमाले सक्षम छ,’ ओलीको भनाइ छ ।

ओलीले पहिचानको नाममा जातीय दंगा फैलाउने कार्य प्रचण्ड पथको भएको भन्दै प्रचण्डले विषयको आगो फैलाउन नसकेपछि पहिचानवादीका नाममा गुण्डाहरू प्रयोग गरेको आरोप लगाएका छन् ।

‘यो विषको आगो फैलाउन खोजेको हो । देशभर आगो फैलाउन जातजातको आधारमा राज्य, भड्काउन र बिथोल्न खोजेको हो । नाम राखेर, फिर्ता लिनेदेखि पूर्नविचार गर्नुपर्छ भन्नेसम्ममा आइपुग्दा प्रत्यक्ष संलग्नता रहेको पुष्टि हुन्छ’, ओलीको भनाइ छ– ‘‘प्रचण्डहरूको यसमा प्रत्यक्ष संलग्नता छ । पहिले प्रदेशको नाम राख्ने, अलिपछि गल्ती भयो भन्ने र पुनिर्विचार गर्नुपर्छ भन्ने । चाइनिज नाटकका पात्रजस्ता छन् प्रचण्ड । यो प्रचण्डपथ भनेको नेपाललाई विनाश गर्ने बाटो हो । यी पहिचानवादी भन्नेहरू प्रचण्डपथका गुण्डा हुन् । किरात राज्य किन मागेका रहेछन् भन्ने देखियो नि । नाम राखेको भए गैरकिरातलाई खेद्ने लक्ष्य रहेछ भन्ने प्रष्ट भयो नि ।’

यसरी भयो आक्रमण प्रयास

विराटनगर– कोशी प्रदेश नामाकरणपछि असन्तुष्ट समूहले उदयपुरमा उपसभामुख सृजना दनुवार तथा त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईमाथि आक्रमणको प्रयास गरेका छन् ।

उदयपुरको गाईघाटमा रहेको सर्पदंश उपचार केन्द्रमा पोर्टेबल भेन्टिलेटर प्रारम्भ गर्ने बारेको कार्यक्रम सम्पन्न गाईघाट बजारतर्फ जाने क्रममा उनीहरूमाथि आक्रमण प्रयास भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको अनुगमनपछि प्रदेश स्वास्थ्य मन्त्री तीलकुमार मेन्याङ्बो, उपसभामुख सृजना दनुवार, प्रदेश स्वास्थ्य सचिव डा। सुधा देवकोटासहितको टोली भुल्केस्थित १८ नम्बर बाहिनीमा रहेको सर्पदंश उपचार केन्द्रमा पुगेको थियो ।

कार्यक्रम सकेर मन्त्री मेन्याङ्बो र सचिव देवकोटा बोल्टारको बाटोहुँदै विराटनगर फर्किए भने उपसभामुख दनुवारसहित त्रियुगा नगरपालिकाकी उपप्रमुख राई गाईघाटतर्फ लागे ।

फर्किने क्रममा काठ लोड गरेको ट्याक्टरले सडक अवरुद्ध गरेर गाडी रोकिएको अवस्थामा आक्रमण प्रयास गरेका थिए ।

उनीहरूले त्रियुगा नगरपालिकाका उपप्रमुख राईको गाडीमा पूर्णरूपमा क्षति पुर्‍याएका छन् भने उपसभामुख दनुवारको गाडीको पछिल्लो भाग कुच्चिएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले केही मोटरसाइकलमा आएका व्यक्तिहरूले आक्रमण गरेको पुष्टि गरेका छन् । घटनामा उपप्रमुखको गाडीमा बढी क्षति भएको भन्ने जानकारीमा आएको प्रजिअ गौतमले जानकारी दिएका छन् ।

उता, नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानालाई इलाममा केही युवाहरूले अभद्र व्यवहार गरेका छन् । इलामबाट विराटनगरतर्फ आउने क्रममा बाटोमा मुढा तेर्स्याएर उनी चढेको गाडी रोकेर रानालाई लक्षित गरी मोबिल प्रहार गरेका हुन् । इलामको इलाम नगरपालिका वडा नम्बर ११ सोयाक भन्ज्याङमा भेला भएर बसेका ४–५ जनाको समूहले बाटोमा मुढा तेर्स्याएर उनलाई लक्षित गरी अभद्र व्यवहार गरेका हुन् ।

उनीसहित ३ जना सवार गाडी बिर्तामोडतर्फ आउने क्रममा रहेको थियो । उनीहरूले बाटो छेकेपछि आफू त्यहाँबाट फर्किएर इलाम बजार आएको रानाले जानकारी दिएका छन् । रानालाई यसअघि पनि एउटा समुहले आक्रमणको प्रयास गरेको थियो । उनी चढेको सरकारी गाडीमा ढुङ्गा मुडा प्रहार भएको थियो । पहिचानवादीले उनलाई यो दोस्रो पटक आक्रमण गरेका हुन् ।