सिटिइभिटीका एक जना कर्मचारी अझै वेपत्ता, दुईजनाको शव तथा गाडी भेटियो

 #दुर्घटना     २०८०, २४ जेष्ठ बुधबार ०९:५१     87 जनाले पढ़िसके



Spread the love

काठमाडौं– सुनकोशी नदीमा जीपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) दुई कर्मचारीको शव गाडीभित्रै भेटिएको छ ।

दुर्घटना भएको पाँचौँ दिन मंगलबार नदीबाट गाडी निकालिएपछि शव भेटिएको हो । जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी तथा इलामका ३२ वर्षीय विद्युत प्राविधिक भानु पौडेलको शव प्राप्त भएको जानकारी सिन्धुलीका एसपी राजकुमार सिलवालले दिएका छन् ।

पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेलको खोजी कार्य जारी छ ।

सिटिइभिटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जीप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोसी नदीमा खसेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमाण्डमा खटिएको गोताखोरले गाडी भेटाएर नदीबाट बाहिर निकालेका हुन् ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको जीपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत प्राविधिक भानु पौडेल सवार थिए । चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैँ पौडिएर निस्किएका थिए ।