यस्तो छ पाँच ‘हाई प्रोफाइल’ अभियुक्तको बयान

 नक्कली भुटानी शरणार्थी काण्ड     २०८०, ९ जेष्ठ मंगलवार १०:०१     103 जनाले पढ़िसके



Spread the love

प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । प्रहरीले सोमबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो। जसमा पाँच ‘हाई प्रोफाइल’ अभियुक्तको बयान यस्तो छ ।

जे–जे गतिविधि भए, गृहमन्त्री, सुरक्षा सल्लाहकार, गृहसचिव सबैको समन्वयमा भएको हो : टोपबहादुर रायमाझी, पूर्वउपप्रधानमन्त्री

भुटानी शरणार्थी समस्या समाधान गर्न हामीले प्रयत्न गरेका हौँ । तर, नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा मेरो त्यति धेरै संलग्नता होइन । यस क्रममा केही व्यक्तिसँग कुरा भएकोचाहिँ साँचो हो ।

यसका लागि हेलिकोप्टर चढियो होला । होटेलमा बसियो होला । सँगै बसेर चिया–कफी पनि खाइयो होला । यसबीचमा जति पनि गतिविधि भए आपसी समन्वयमै भएका हुन् । त्यसवेलाका गृहमन्त्री, सुरक्षा सल्लाहकार, गृहसचिव सबैलाई यसको जानकारी पनि छ ।

कतिपयले त मैले गृह मन्त्रालयमै रकम बुझेको भन्ने बयान दिएका रहेछन्, तर मलाई केही जानकारी छैन : बालकृष्ण खाण, पूर्वगृहमन्त्री

भुटानी शरणार्थी समस्या समाधान गर्न मेरै नेतृत्वमा पहल भएका हुन् । तर, नक्कली शरणार्थी बनाउने धन्दामा मेरो कुनै संलग्नता छैन । पक्राउ परेकाहरूले मविरुद्ध बयान दिएको सुनेँ ।

कतिपयले त मैले गृह मन्त्रालयमै रकम बुझेको बयान पनि दिएका रहेछन् । यस विषयमा मलाई केही जानकारी छैन । जसले त्यस्तो भनेका छन्, तिनीहरूलाई नै सोध्नुहोस् । धन्दामा म संलग्न नभएको हुँदा यसमा अरूलाई पोल्नुपर्ने आवश्यकता छैन ।

केशव दुलालले २६ जेठ ०७९ मा गृह मन्त्रालयमै आएर एक करोड २४ लाख बुझाएका हुन् : टेकनारायण पाण्डे, पूर्वगृहसचिव

भुटानी शरणार्थी समस्या समाधान गर्न हामीले पहल गरेका हौँ । यसका लागि मेरै निर्णयमा समिति गठन भएको हो । समिति गठन गर्दा गलत नियत थिएन । केशव दुलालसँग मेरो चिनजान हो । पैसाको कुरा भएको पनि हो । उनले २६ जेठ ०७९ मा गृह मन्त्रालयमै आएर एक करोड २४ लाख दिएका थिए ।

त्यो सबै पैसा तत्कालै कार्यकक्षमै गएर मन्त्रीज्यूलाई बुझाएको हुँ । मैले यो प्रकरणमा बदनियत राखेर कुनै निर्णय पनि गरेको छैन, लाभ पनि लिएको छैन । पछि प्रतिवेदन क–कसले किर्ते गरे, मेरो जानकारीमा छैन ।

गृहमन्त्रीज्यूसँग केही व्यक्तिको पुरानो कारोबार रहेछ, त्यो कारोबार मिलाउन उहाँले मलाई केही रकम दिनुभएको थियो : आङटावा शेर्पा, पूर्वसांसद
नक्कली भुटानी शरणार्थी बनाउने काममा मेरो कुनै संलग्नता छैन । गृहमन्त्रीज्यू (बालकृष्ण खाण)सँग केही व्यक्तिको पुरानो कारोबार रहेछ । उक्त कारोबार मिलाउन उहाँले मलाई भन्नुभएको थियो ।

त्यसक्रममा उहाँले मलाई केही रकम पनि दिनुभएको थियो । उहाँकै निर्देशनअनुसार मैले कारोबार मिलाउने प्रत्यत्न मात्रै गरेको हुँ । व्यक्तिगत रूपमा मैले कसैसँग रकम लेनदेन गरेको छैन । मविरुद्ध कसैको जाहेरी पनि छैन

७३ वर्षको भएँ । सुगर र प्रेसरको रोगी हुँ । आराम गर्न चिकित्सकको सुझाव छ । नक्कली शरणार्थी बनाउने धन्दाबारे मलाई जानकारी छैन । त्यसैले यस विषयमा बोल्दिनँ । प्रश्न सोधेर धेरै तनाव दिने काम नगर्नुस् ।

बादलका परिवार नै अनुसन्धानमा

यस प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकारदेखि श्रीमतीसम्म अनुसन्धानमा तानिएका छन् । तर, बादल र उनकी पत्नीको हकमा भने तत्काल प्रमाण जुट्न सकेन । प्रमाण भेटिएको वेला उनीहरूविरुद्ध मुद्दा चलाउने गरी प्रहरीले अनुसन्धान प्रतिवेदन पेस गरेको छ ।

बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परिसकेका छन् । राईका छोरा नीरज र बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ, उनीहरू दुवै फरार छन् । प्रतीकले टंगालस्थित नीलगिरि थकाली रेस्टुरेन्टलाई अखडा बनाएर पैसा उठाएको पक्राउ परेका बिचौलियाको बयान छ ।

बादलपत्नी नैनकला थापालाई पनि मन्त्रीनिवासमै गएर पैसा बुझाएको उनीहरूको दाबी छ । त्यस विषयमा ‘आमाले पैसा पाउनुभयो’ भनेर प्रतीकले एसएमएस नै पठाएको भन्नेसम्मको अनुसन्धानमा खुलेको छ । बादललाई पनि भेटेको, तर प्रत्यक्ष पैसा नदिएको र उनी आफूहरूसँग धेरै नबोलेको अभियुक्तहरूको बयान छ ।

अन्तिममा पहिचान भएका बिचौलिया बेचन झाबाट धेरैको पर्दा खुल्ने प्रहरीको आशा

यो प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुग्दा प्रहरीले बिचौलिया बेचन झाको संलग्नता पनि पत्ता लगाएको थियो । तर, उनलाई पक्राउ भने गर्न सकेको छैन । झाले राजनीतिक नेतृत्वलाई मिलाउने जिम्मा लिएका थिए । प्रहरी स्रोतका अनुसार ठगी गिरोहलाई तत्कालीन गृहमन्त्री बालकृष्ण खाणसम्म भेटघाटको व्यवस्था गरेर सेटिङ मिलाउने व्यक्ति उनी नै थिए ।

कांग्रेसकै उच्च नेताको सिफारिसमा झा खाण र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई भेट्न गृह मन्त्रालय गएका थिए । उनले नै केशव दुलाल तथा सानु भण्डारीलगायतलाई नजिक गरिदिएका थिए । झालाई पनि मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । तर, उनको स्थायी ठेगाना पत्ता लाग्न सकेको छैन । उनको भारत र नेपाल दुवै देशको नागरिकता रहेको सूचना प्रहरीले पाएको छ । कांग्रेसका उच्चपदस्थ नेताहरूसँग उनको हिमचिम देखिएको छ ।

गत २६ वैशाखमा ठगी गिरोहका रामशरण केसी पक्राउ परेपछि उनीमाथि अनुसन्धान गर्ने क्रममा झाको संलग्नता खुलेको हो । केसीले झालाई दुई करोडको चेक दिएको प्रमाणसमेत प्रहरीले बरामद गरेको छ । उनी पक्राउ परेपछि यो

घटनामा थप उच्चपदस्थ व्यक्तिको संलग्नता खुल्ने प्रहरीको आशा छ ।

संलग्नता पुष्टि भएका ३३ आरोपी

पक्राउ (१६) : टोपबहादुर रायमाझी, बालकृष्ण खाण, आङटावा शेर्पा, टेकनारायण पाण्डे, इन्द्रजित राई, शरशेर मियाँ, टेकनाथ रिजाल, सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरी

फरार (१४) : प्रतीक थापा, नीरज राई, केशव तुलाधार, अशोक पोखरेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनील बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन र आशिष बुढाथोकी

ठेगाना नखुलेका फरार (३) : बेचन झा, गोकुल थापा र रमा थापा

आजको नयाँ पत्रीका दैनिकमा समाचार प्रकाशित छ।