नक्कली भुटानी शरणार्थी अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा पेश गरिँदै

 संवाददाता    २०८०, ८ जेष्ठ सोमबार ११:५१     125 जनाले पढ़िसके



Spread the love

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्धको अनुसन्धान प्रतिवेदन आज सोमबार सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश हुँदैछ ।

अनुसन्धानको ५८ दिनपछि प्रहरीले प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गर्न लागेको हो ।

साथ अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश हुनेछ । सरकारी वकिल कार्यालयले दुई दिनपछि मुद्दा जिल्ला अदालत काठमाडौंमा अभियोजन गर्नेछ ।

त्यसपछि मुद्दामा थुनछेक वहस चल्नेछ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले सोमवार कार्यालय खुल्न साथ मुद्दा सरकारी वकिल कार्यालयमा पेश हुने बताए ।

उनले भने– ‘अनुसन्धान प्रतिवेदन सोमवार बिहान कार्यालय खुल्न साथ सरकारी वकिल कार्यालयमा पेश हुनेछ । अनुसन्धान लगभग टुंगिएको छ । मुद्दा जोडिएका अन्य अभियुक्तलाई पछि अनुसन्धान हुनेछ ।’

आइतवारसम्म नक्कली शरणार्थीका नाममा ठगि भएको भन्दै एक सय १२ पीडितले उनीहरु विरुद्ध प्रहरीमा उजुरी दिएका छन् । मुद्दामा २७ करोड ४२ लाख ५७ हजार रुपैयाँ ठगि भएको भन्दै बिगो दाबी भएको छ ।

प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी कार्कीले पक्राउ अभियुक्त विरुद्ध आकर्षित हुने जति सबै मुद्या लाग्ने बताए । उनले भने– ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जना पक्राउ परेका छन् । बाँकी फरार छन् । उनीहरु विरुद्ध आकर्षिक हुने जति सबै मुद्या लगाइनेछ । अनुसन्धान करिब–करिब पुरा भएको छ । प्रतिवेदन आजै सरकारी वकिल कार्यालयमा पेश हुनेछ ।’

पक्राउ अभियुक्त विरुद्ध मुद्या चलाउने सन्दर्भमा आइतवार दिनभर काठमाडौं उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका उच्च अधिकृत पटक–पटक बैठक बसेका थिए । बैठकमा अभियुक्त विरुद्ध राज्य विरुद्धको कसूर पनि चलाउने पर्ने सम्बन्धमा छलफल भएको थियो । यस बिषयमा बैठकमा सहभागि सबै उच्च प्रहरी अधिकृत सहमत भएको प्रहरीको भनाई छ ।

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालजस्ता हाई प्रोफाइललाई पक्राउ गरेको छ । त्यसबाहेक धन्दामा संलग्न सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलाई पनि पक्राउ गरेको छ । प्रतीक थापा, नीरज राई, बेचन झा, केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनील बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुथाथोकी र रमा थापा फरार छन् । प्रहरीले उनीहरु विरुद्ध पनि मुद्दा चलाउने तयारी गरेको छ ।

तत्काल मुद्या नचलाने निश्कर्षमा प्रहरी पुगेका छन् । घटनामा पक्राउ परेका अभियुक्तले उनीहरु विरुद्ध पनि बयान दिएका थिए । तर, ठोेस प्रमाण फेला नपर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छैन ।

प्रहरीले घटनाको अनुसन्धान ५८ दिन अघिबाट सुरु गरेको थियो । १२ चैतमा घटनामा संलग्न भएको अभियोगमा प्रहरीले केशव दुलाल र सानु भण्डारीलाई पक्राउ गरेको थियो । त्यसको तीन दिनपछि अर्थात १५ चैतमा प्रहरीले अर्का बिचौलिया सागर राईलाई पक्राउ गरेको थियो । २९ चैतमा सन्देश शर्मा पक्राउ परेपछि मात्रै प्रहरी संगठित अपराधमा मुद्या चलाउने निश्कर्षमा पुगेका थियो । त्यसपछि, इन्द्रजीत राई, टेकनारायण पाण्डे, बालकृष्ण खाण लगायतका हाइप्रोफाइल पक्राउको सिलसिल सुरु भएको थियो ।

मुद्दा कमजोर हुन सक्नेप्रति सरकारी वकिलको चिन्ता

प्रहरीले मुद्दा अभियोजनको दुई दिन अघि मात्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यलयमा पेश गरेको छ । त्यसो हुँदा मुद्दासँग सम्बन्धित मिसिल अध्ययन गर्न सरकारी वकिललाई निक्कै कम समय छ । त्यसो हुँदा मुद्या कमजोर हुन सक्ने आशंका सरकारी वकिल कार्यालयले गरेको छ । वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायधिवक्ता अच्यूतमणी न्यौपानेले मिसिल अध्ययन गर्ने समय निक्कै कम भएको हुँदा मुद्दा कमजोर हुन सक्ने बताए ।
उनले भने– ‘नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान हालसम्मकै ठुलो र जटिल प्रकृतिको हो । अनुसन्धानमा प्रहरीले जति मेहनेत गरेको छ, मुद्या बलियो गरी अभियोजन गर्न सरकारी वकिलले पनि उत्तिकै मेहनत गर्नुपर्छ । यसका लागि प्रत्येक मिसिल मिहिन ढंगले अध्ययन हुनुपर्छ । तर, हामीसँग समय निक्कै कम छ । त्यसो हुँदा मुद्दा कमजोर होला की भन्ने चिन्ता छ ।’