काठमाडौँ / सरकारले आगामी आर्थिक आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
संघीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्दै समाजवाद उन्मुख अर्थतन्त्र र शुसासन प्रणाली संस्थागत गर्नु सरकारको पहिलो प्राथमिकता भएको सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । संविधान र संघीयताको प्रभावकारी कार्यान्वयन, अर्थतन्त्रको प्रभावकारी सुधार, सार्वजनिक खर्चमा मितव्ययिता, पूँजीगत खर्चमा वृद्धि लगायतका विषय समेत सरकारको प्राथमिकतामा रहेको छ।
गुणस्तरीय पूर्वाधार निर्माण र सेवा प्रवाहमा सुधार, उत्पादन र रोजगारीमा वृद्धि, हरित अर्थतन्त्रको विकास लगायतका विषय समेत सरकारको प्राथमिकतामा रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित नीति तथा कार्यक्रमले समृद्ध, सबल र न्यायपूर्ण नेपाल निर्माण गर्ने हाम्रो सङ्कल्पलाई साकार तुल्याउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास रहेको राष्ट्रपति पौडेलले बताए ।
नीति तथा कार्यक्रमको कार्यान्वयनबाट संविधान र सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुने, उत्पादन, उत्पादकत्व र रोजगारीमा वृद्धि भई स्वाधीन, सबल र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न योगदान पुग्ने उनको भनाइ छ ।