दासढुंगा दुर्घटनाको ३० वर्ष पूरा, आज मदन-आश्रित स्मृति दिवस, घटना आज पनि रहस्यकै भुमरीमा

 एमाले     ३ जेष्ठ २०८०, बुधबार ०८:५२     47 जनाले पढ़िसके



Spread the love

पटक पटक हामी दोषी पत्ता लगाउँछौ भन्ने एमाले पंक्तिका नेताहरु विभिन्न पटक सरकारको नेतृत्व गर्दापनी दोषी पत्तालाग्न सकेन। अझ मदन पत्नी स्वयं आफै ८ वर्ष राष्ट्रप्रमुख भइसक्दा पनि दोषी पत्ता लगाउने तत्परता भएन। अझ उक्त घटनाका चालक अमर लामा समेत २०६० मा मारिएपछी घटना झन रहस्यमय बनेको छ।

काठमाडौं । आज जेठको ३ गते मदन-आश्रित स्मृति दिवस । विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

२०५० साल जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगामा जीप खसेर निधन भएको थियो । त्यही  रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष जेठ ३ गते विभिन्न कार्यक्रम गरेर मदन आश्रित स्मृति दिवस मनाइन्छ ।

स्मृति दिवसको अवसरमा नेकपा एमाले र एकीकृत समाजवादीले विभिन्न कार्यक्रम गर्दैछन् ।  एकिकृत समाजवादी पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित नेताको उपस्थितिमा श्रद्धाञ्जलीसभालगायत कार्यक्रम हुन लागेको हो।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो। पोखरामा हुने सभालाई सम्बोधन गर्न जाँदै गर्दा चितवनको कविलासस्थित दासढुंगामा दुर्घटनामा परेर दुवै नेताको निधन भएको हो।

जिप त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जीवित थिए। लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन।