मीटरब्याजमा ऋण लगाउने व्यक्तिलाई ७ वर्षसम्मको जेल सजाय हुने कानुनी व्यवस्था ल्याइएको छ । सरकारले अध्यादेशमार्फत मुलुकी अपराध संहिता २०७४ को दफा २४९ मा नयाँ बुदाँ थप गर्दै मीटरब्याज लगाउनेलाई ७ वर्षसम्म जेल र ७० हजार जरीवाना हुने कानुनी व्यवस्था गरेको हो ।
‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ मा अनुचित लेनदेन गर्ने वा गराउनेलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संशोधित अध्यादेशलाई आज नेपाल राजपत्रमा प्रकाशित गरेपछि यो कानुन कार्यान्वयनमा गएको छ ।
त्यस्तै, अनुचित लेनदेनको रकम असुलउपर गर्न ऋणीलाई हैरानी पुर्याउन नपाइने पनि व्यवस्था छ । लेनदेनको आधारमा ऋणीबाट रकम वा कुनै अन्य चल सम्पत्ति लिएको पाइएमा त्यस्तो रकम वा चल सम्पत्ति बराबरको रकम कसूरदारबाट भराउने पनि स्पष्ट पारिएको छ ।
ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण भएको ठहर भएमा त्यस्तो हक हस्तान्तरण बदर हुने भनिएको छ । सरकारले एक लाख रुपैयाँभन्दा बढीको लेनदेन कारोबार नगद वा घरसारमा गरेको अवस्था भएमा त्यस्तो रकम नभराइने समेत जनाएको छ । योसंगै लिखित तयार पार्दा साहु र ऋणीको तर्फबाट कम्तीमा एकएक जना साक्षी राख्नुपर्ने भएको छ ।