पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन। शनिबार गण्डकी प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि उनी पदमुक्त भएका हुन । विश्वासको मतका लागि भएको मतदानमा सहभागी ६० प्रदेशसभा सदस्यमध्ये २४ जनाले मात्र विश्वासको पक्षमा मत दिए । ३५ प्रदेशसभा सदस्यले विश्वासको विपक्षमा मत दिएका थिए । योसँगै उहाँ नेतृत्वको सरकार ढलेको छ । अधिकारीलाई नेकपा (एमाले)बाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई सांसदले साथ दिएका थिए । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र सांसदले विपक्षमा मतदान गरेका थिए ।
गण्डकी प्रदेशसभामा एमाले संसदीय दलको नेता भएका अधिकारी माओवादी केन्द्र र राप्रपाको समर्थनमा गएको पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। गत चैत १० गते माओवादी केन्द्रले मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारबाट हटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका उनले सत्ता साझेदार दल माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिएका हुन। संघीय सरकारबाट एमाले बाहिरिएपछि प्रदेशबाट माओवादी केन्द्र बाहिरिएको थियो ।
यसअघि, मुख्यमन्त्री अधिकारीले पुस २९ मा विश्वासको मत लिएका थिए । त्यतिबेला विश्वासको मतका लागि प्रस्तुत गरेको प्रस्तावको पक्षमा ३१ मत खसेको थियो भने विपक्षमा २७ मत खसेको थियो ।
शनिबार प्रदेशसभाको पहिलो बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसक्रममा उहाँले संघीयताको मर्मबमोजिम नेपालको संविधानको सहज कार्यान्वयन गर्दै प्रदेशको समग्र विकास र समृद्धितर्फ प्रयत्नरत आफू नेतृत्वको सरकारलाई राजनीतिक स्थिरता, संघीयताको कार्यान्वयन, कानुनको शासन तथा न्यायमूलक शासन प्रणाली, मानव अधिकार तथा नागरिक हकहितको रक्षा, लोक कल्याणकारी प्रदेश निर्माण, आर्थिक समृद्धि, समतामूलक विकासका लागि पुनः विश्वासको मत दिन आग्रह गरेका थिए।
प्रस्तावमाथिको छलफलमा एमालेका लिलबहादुर थापामगर, राप्रपाका सांसद/मन्त्री पञ्चराम गुरुङ, माओवादी केन्द्रका हरिबहादुर चुमान र कांग्रेसका सुरेन्द्रराज पाण्डेले भाग लिएका थिए । दोस्रो बैठकमा अधिकारीले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए । दोस्रो बैठकमा प्रस्तावमाथि मतदान भएको थियो ।
विश्वासको मत पाउन असफल भएसँगै अधिकारी नेतृत्वको सरकार १०४ दिनमै ढलेको छ । २०७९ मंसिर ४ को निर्वाचनपछि गठन भएको प्रदेश सरकार ढलेको यो दोस्रो उदाहरण हो । यसअघि सुदूरपश्चिम प्रदेशमा गठन भएको एमाले नेतृत्व सरकार पनि पहिलोपटक नै विश्वासको मत पाउन नसकेर ढलेको थियो ।
गण्डकी प्रदेशमा अब कांग्रेस र माओवादी केन्द्रले सरकार बनाउने तयारी गरिरहेका छन् । गत वैशाख ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानलगायत सहभागी बैठकले गण्डकी प्रदेश सरकारमा आलोपालो नेतृत्व गर्ने सहमति गरेको बताइएको छ ।
मुख्यमन्त्रीबाट अधिकारी बर्खास्त भएसँगै अब नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने पक्का भएको छ । उनलाई माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले समर्थन दिने बताइएको छ ।