काठमाडौं । इस्लाम धर्मावलम्बीको महान पर्व ‘इदउलफित्र’ आज देशभर मनाइँदै छ । इदुलफित्र मुस्लिम समुदायका धर्मालम्बीहरू एक महिना रोजा (व्रत) बसेर मनाउने गर्दछन् ।
रमजानको अवसरमा आज काठमाडौंको घण्टाघर नजिकै रहेको कास्मिरी मस्जिदमा नमाज पढ्न मानिसहरू भेला भएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठुलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ ।
साथै रमजान महिनालाई मुस्लिम समुदायले दान गर्ने महिनाको रूपमासमेत लिने गर्छन् । चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात व्रत बसिन्छ ।
गत मार्च २५ मा चन्द्रमा देखिएपछि सोही शुक्रवारबाट व्रत बस्न सुरु भएको थियो । रमदान अर्थात् रमजान महिना सकिएको खुसीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाइन्छ ।
हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् ।
चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । फोटो : फाइल