काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतमा लैजाने तयारी भएको छ । फोक्सोमा संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेललाई परिवारले नै भारतमा उपचारका लागि लैजान चिकित्सकसँग आग्रह गरेका हुन् ।
चिकित्सकहरूले राष्ट्रपति पौडेलको स्वास्थ्य जाँच र प्रयोगशाला परीक्षणका रिपोर्ट हेरेर यस विषयमा निर्णय लिन सक्ने छन् । परिवारका सदस्यले थप उपचारका लागि भारत लानुपर्ने बताएपछि सरकारले पनि एयर एम्बुलेन्समार्फत् भारत लाने तयारी गरेको हो । संभवतः पौडेललाई आजै एयर एम्बुलेन्समार्फत भारत लगिनेछ ।
राष्ट्रपति पौडेलको निजी चिकित्सक एवं वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बम लगायतको टोली उनको उपचारमा संलग्न छन् । केही दिनअघि पनि पौडेल पेटसम्बन्धी समस्या भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । यसअघि चैत १८ गते अस्पताल भर्ना भएर उनी २२ गते डिस्चार्ज भएका हुन् । फोटो : फाइल