आठौंपटक मन्त्रिपरिषद् विस्तार, एन.पी. साउद परराष्ट्रमन्त्री

 प्रधानमन्त्री     २०८०, ४ बैशाख सोमबार ०८:११     90 जनाले पढ़िसके



Spread the love
काठमाडौं । सात दलीय सहयोगबाट प्रधानमन्त्री बनेर १० दलीय समर्थन जुटाउन सफल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेन । चार महिनाको अवधिमा आठपटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेनन।

आइतबार परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता एनपी साउदलाई नियुक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आठौंपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन । सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भए पनि प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गरिएको प्रधानमन्त्री निकट स्रोतले दाबी गरे।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड गत पुष १० मा नेकपा (एमाले) सहितका सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । नेपाली कांग्रेससहितको पाँच दलीय चुनावी गठबन्धन तोडेर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले दुई महिनामै उक्त गठबन्धन भत्काउँदै पुनः कांग्रेससहित आठ दलको समर्थन जुटाएका थिए ।

प्रधानमन्त्री प्रचण्डले पहिलोपटक पुस ११ मा मन्त्रिपरिषद् विस्तार गरेका थिए भने एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका मन्त्रीहरूलाई समेटेर दोस्रोपटक माघ ३ मा, माघ १४ मा तेस्रो पटक, माघ २३ मा चौथोपटक, फागुन १४ पाँचौँपटक, फागुन १६ मा छैटौंपटक र सातौंपटक चैत्र १७ मा विस्तार भएको प्रचण्ड सरकारको मन्त्रिपरिषद् आठौंपटक वैशाख ३ मा विस्तार भएको छ ।

एमालेसँगको गठबन्धन तोडेर कांग्रेससहितका आठ दलको समर्थन पाएपछि १० दलले विश्वासको मत दिएको एक महिना बितिसक्दासमेत प्रधानमन्त्री दाहालको सरकारमा अझै पाँच मन्त्रालय मन्त्रीविहीन छन् । ६ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका प्रचण्डले आइतबार आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्दा परराष्ट्रमन्त्री मात्रै नियुक्त गर्न सके।।