सिंहदरबार र महानगरको फोहोर विवाद : उठेन फोहर आज पनि, वार्ताको तयारी गर्दै मन्त्रालय

 महानगर     २०७९, २७ चैत्र सोमबार ०७:१३     188 जनाले पढ़िसके



Spread the love

काठमाडौं । काठमाडौं महानगरपालिकाले हिजोबाट सिंहदरबार परिसरको फोहर उठाउन छोडेको छ । महानगरका मेयर बालेन शाहले शनिबार फेसकबुकमा एक स्टाटस जारी गर्दै फोहर नउठाउने घोषणा गरेसँगै यो काम रोकिएको हो ।

काठमाडौंको फोहर व्यवस्थापन शहरी विकास मन्त्रालयअन्तर्गतको शाखाबाट हुँदै आइरहेको छ । मन्त्रालयका प्रवक्ता प्रदीप परियारले चाँडै नै महानगरसँग वार्ता गर्ने तयारी भइरहेको जानकारी दिए । ‘फोहर व्यवस्थापन नहुँदा यसले सिंहदरबारमात्रै नभएर सबैलाई असर पर्छ,’ उनले भने, ‘हामी चाँडै यो समस्याको निराकरण गर्ने पक्षमा छौं । मन्त्रालयले छिटै वार्ता अघि बढाउँछ ।’

आफूले उठाएका विभिन्न मागलाई सरकारले बेवास्ता गरेको भनेर मेयर शाहले पटक–पटक गुनासो गर्दै आएका थिए । शनिवार भने उक्त स्टाटसमा आक्रोश पोख्दै उनले लेखेका छन्, ‘सिंहदरबारको फोहर आजबाट उठ्दैन ।साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

सिहंदरबार काठमाडौं महानगर वडा नंबर ११ मा पर्छ । तर त्यहाँकै वडाध्यक्षलाई मेयर शाहले गरेको निर्णय फेसबुक हेरेपछिमात्रै जानकारी भयो । वडाध्यक्ष हिरालाल तण्डुकारका अनुसार सोमवारदेखि फोहर उठाउनेगरि मन्त्रालयसँग महानगरले वार्ता गर्ने भनिएपनी आज पनि फोहोर नउठेको बताइएको छ ।