सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

 काँग्रेस     २०७९, २४ चैत्र शुक्रबार ०७:०८     120 जनाले पढ़िसके



Spread the love

काठमाडौं– नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको छ।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएका थिए। उनीसँगै गम्भीर घाइते भएकी उनकी आमा हरिकलाको भने कीर्तिपुर अस्पतालमा उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो।

सुरूमा भण्डारीको पनि किर्तिपुरस्थित अस्पतालमा उपचार गरिएकोमा उनलाई थप उपचारका लागि फागुन ४ मा भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो। सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको चिकित्सकहरूलाई उद्धृत गर्दै भण्डारीनिकट माधव न्यौपानेले जानकारी दिए।

उनको अनुहारको छाला राम्रो हुँदै आएको र बायाँ हातको पट्टी खोलिइसकिएको उनले जानकारी दिए। कलमी गरिएको छालाले पनि राम्रो काम गरिरहेको चिकित्सकहरूले जानकारी दिएको न्यौपानेले बताए।

दिनहुँ सांसद भण्डारीलाई फिजियोथेरापी गराइन्छ भने हिँडाउन पनि सुरु गरिएको छ। दिनमा तीन-चार पटक हिँडाउन थालिएको र उनी अरूको सहयोगमा हिँड्न थालेको न्यौपानेले जानकारी दिए।