काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट न्यायाधीश अनिलकुमार सिन्हाले हेर्न अस्वीकार गरेका छन । लामिछानेविरुद्ध यसअघिको नागरिकतासम्बन्धी मुद्दामा आफूले राय व्यक्त गरिसकेकाले राहदानीको मुद्दा अर्कै इजलासमा पठाउन न्यायाधीश सिन्हाले आग्रह गरेका छन।
अधिवक्ता युवराज पौडेल सफलले लामिछानेविरुद्ध साेमवार दायर गरेको रिट निवेदन मङ्गलवार सिन्हाको इजलासमा परेको थियो । रिटमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर गर्न माग गरिएको छ । पौडेलले यसअघि पनि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए ।
नागरिकता विवाद सम्बन्धमा परेको रिटमाथि गएको माघ १३ गते परमादेश जारी गर्दै सर्वोच्च अदालतले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै लामिछाने नेपाली नागरिकता नभएको फैसला सुनाएको थियो । त्यो फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो । लामिछानेले अहिले जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी नेपाली नागरिकता भने लिईसकेका छ्न।
गएको ६ गते महान्यायाधिवक्ता दीनमणि पोखरेलले लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा लामिछानेमाथि मुद्दा नचलाउने निर्णय गरिएको थियो । तर त्यो निर्णय बदर गर्न माग गर्दै रिट निवेदन परेपछि हिजो सुनुवाइ हुने भएकाे थियाे ।
लामिछानेको सांसद पद गुमेपछि चितवन २ मा आउँदो वैशाख १० गते हुने उपचुनाव हुँदैछ । उपचुनावमा लामिछानेले उम्मेदवारी दिएका छन । आज अर्को इजलासमा मुद्दाको सुनुवाई हुने बताइएको छ।
