काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्धको रिटउपर आज न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा प्रारम्भिक सुनुवाइ हुँदै छ । उक्त रिट पेसी सूचीको नौ नम्बरमा छ ।
अधिवक्ता युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको भन्दै पौडेलले रिट हालेका हुन् ।
यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो । त्यसअघि, प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।
सोमबार दायर रिटमा लामिछानेले अमेरिकी नागरिक हुँदाहुँदै नेपाली राहदानी प्राप्त गरी कसुर गरेको जिकिर गरिएको छ । यसअघि, सांसद पदको योग्यतासम्बन्धी रिटमा लामिछानेले आफूले अमेरिकी नागरिक रहँदै नेपाली राहदानी प्राप्त गरेको स्वीकार गरेका थिए ।