संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ। बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ।
बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आव २०७८/०७९) पेस गर्ने कार्यक्रम रहेकाे संघीय सचिवालयले जनाएको छ।
यस्तै, आज नियमावली मस्यौदा समितिको प्रतिवेदनबारे दफाबार छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची छ।
यसैगरी, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव पेस गर्ने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए।
यसपछि उक्त मस्यौदा प्रतिवेदनबारे प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ।
त्यसपछि नियमावली मस्यौदा समितिका सभापति केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव पेस गर्नेछन्।
