काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्न खोज्दा दोस्रो पटक विश्वासको मत लिन बाध्य भएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको वातावरण बनाउन आफू क्रियाशिल हुँदाहुँदै नेकपा एमाले र राप्रपाले नमानेको जिकिर गरे।
प्रचण्डले भने,’यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइन,सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावपछि राप्रपा र एमालेका मन्त्रीहरूले राजीनामा दिनुभयो ।’
उनले नेकपा एमाले नेतृत्वको गठबन्धनमा राजनीतिक स्थीरताको प्रतिवद्धतासहित सरकार गठन भएको बताए। तर, राष्ट्रिय सहमतिमा राष्ट्रपति हुनुपर्छ भन्ने प्रस्तावपछि केही दलहरूबीच असमझदारी बढेको बताए।
उनले भने,’प्रधानमन्त्री र मन्त्रीहरूबीच न ठूला नीतिगत मतभेद देखिए न व्यक्तिगत सम्बन्ध बिग्रिएको थियो । राष्ट्रिय सहमतिमा राष्ट्रपति हुनुपर्छ भन्ने प्रस्तावपछि एमाले र राप्रपाका मन्त्रीज्यूहरुले राजीनामा दिनुभयो ।’