आजको बैठकमा सोमबार ६ चैतमा प्रधानमन्त्रीलाई विश्वासको मत दिन १० दल नै सहमत

 गठबन्धन     २०७९, ४ चैत्र शनिबार २२:३६     88 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । सत्ता गठबन्धनका १० दलको बैठक सकिएको छ ।

बैठकमा सोमबार ६ चैतमा प्रधानमन्त्रीलाई विश्वासको मत दिन १० दल नै सहमत भएका छन् ।

शनिबार बालुवाटारमा बसेको बैठकले यस्तो सहमति गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रमेश मल्लले बताए ।

उनले भने, ‘आज बसेको सत्ता साझेदार १० दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सम्पन्न भएको छ। बैठकमा भोलि संसदमा प्रस्तुत गर्ने विधेयक र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ।’

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायतको सहभागिता थियो ।