गठबन्धनमा कुरा मिलेन, उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी पर्ने देखियो : सिके राउत

 संवाददाता    २०७९, २७ फाल्गुन शनिबार १३:३६     65 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उठाउने बताएका छन ।

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय बैठकमा दलहरुले आफ्नो आफ्नो दाबी गर्दा बैठक निष्कर्षविहीन भएको र आफ्नो पार्टीले पनि ममता झालाई उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गराउने बताएका हुन। उनले उपराष्ट्रपतिको चुनावमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको र संविधानको मर्म पनि त्यही रहेको भन्दै जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्ने बताए । उनले जनता समाजवादी पार्टी, नेपालले पनि दुई जनाको उम्मेदवारी गर्ने अवस्था देखिएको बताए।

उनले भने, ‘आज १० दलको बैठक थियो । उपराष्ट्रपतिको उम्मेदवारको बारेमा छलफल भयो । उपराष्ट्रपतिको चुनावमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको छ । हामीले पनि महिला नै सकेसम्म उठाउनुपर्ने, त्यसमा रिस्क नलिने भन्नेकुरा भयो ।’

अध्यक्ष राउतले गठबन्धनबाट आज तीन जनाको उम्मेदवारी पर्ने अवस्था देखिए पनि आइतवारसम्म सर्वसम्मतिले एक जना मात्रै उम्मेदवारी हुने स्पष्ट पारे।

‘आज जसपाले पनि सम्भवतः दर्ता गर्नेछ। भोलिसम्ममा निष्कर्ष निस्केर एउटा मात्रै उम्मेदवार कायम हुने देखिन्छ । गठबन्धनबाट ३ जना उम्मेदवार हुने सम्भावना देखिएको छ । जसपाबाट दुई जना उम्मेदवार बनाउने अवस्था देखिएको छ ’ उनले भने ।