माधव नेपालले प्रतिक्रियावादीको सेवाका लागि पार्टी विभाजन गरेर चोइटो बुझाए: केपी ओली

 एमाले     २०७९, २६ फाल्गुन शुक्रबार १९:४४     82 जनाले पढ़िसके



Spread the love

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालले प्रतिक्रियावादीहरुको सेवामा समर्पित भएर लागि परेको आरोप लगाएका छन्।

विधि र प्रक्रिया भन्दै नेपालले प्रतिक्रियावादीहरुको सेवाका लागि पार्टी विभाजन गरेर उनीहरुलाई चोइटो बुझाएको अध्यक्ष ओलीले दाबी गरे।

शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टी निकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रीय कमिटीको शपथ ग्रहण समारोहमा बोल्दै उनले राजनीतिमा इमान्दार प्रयास नगरेका कारण माधव नेपालहरुले सफलता हासिल गर्न नसकेको तर्कसमेत गरे।

अध्यक्ष ओलीले दुई तिहाई पुगेको नेकपालाई कमजोर बनाएर प्रचण्ड, माधव नेपालहरुले राजनीतिमा बेइमानी गरेको बताए। खेलाडीहरुलाई पनि फल खेलेर श्रेष्ठता हासिल हुन्छ भन्ने भ्रम नपाल्न पनि आग्रह गरे।

निरन्तरको इमान्दार प्रयासबाट मात्रै खेलाडीहरुले पनि सफलता हासिल गर्न सक्ने उल्लेख गर्दै उनले सोही अनुसार अघि बढन खेलाडीहरुको ध्यानाकर्षण गराए।

अध्यक्ष ओलीले एम्बाब्बे, मेसीजस्ता खेलाडीहरु नेपालमा पनि हुने सक्ने भन्दै त्यसका लागि ध्यान दिन पनि नेपाल खेलकुद महासंघलाई सचेत गराए। उनले देखिने गरी खेल क्षेत्रको विकास गर्न र राजनीतिलाई पनि सही बाटोमा हिँडाउने काममा महासंघ सफल हुने विश्वास व्यक्त गरे।