विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको माओवादी घटकले प्रतिवाद गर्ने

 नेकपा माओवादी     २०७९, २३ फाल्गुन मंगलवार १३:३२     166 जनाले पढ़िसके



Spread the love

काठमाडौं । माओवादी धाराका पार्टीहरुको बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको माओवादी धारका घटकहरुको बैठकले संक्रमणकालिन न्यायसँग सम्बन्धित सबै विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनु पर्छ भन्दै विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने निर्णय गरेको हो ।

साथै बैठकले विभिन्न समयमा राज्यसँग भएका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको निर्णय गरको छ ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपालस समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, नेकपाका खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत उपस्थित रहेका थिए ।

हालै सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डसम्बन्धी मुद्दा दर्ता गर्न आदेश दिएको थियो । प्रचण्डलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउने आदेश माग गर्दै पेस भएका दुई रिट दर्ता गर्न सर्वोच्चले गत फागुन १९ गते आदेश दिएको थियो ।

रामेछापका कल्याण बुढाथोकी र अधिवक्ता ज्ञानेन्द्र आरणले प्रचण्डउपर दायर गरेको रिट निवेदन सर्वोच्चका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भनेकोमा न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुँयालको संयुक्त इजलासबाट बदर गरेर रिट दर्ता गर्न आदेश दिएको थियो ।

प्रचण्डले ०७६ को माघीको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा आफूलाई १७ हजार मान्छे मारेर आएको भनिए पनि त्यो कुरा सत्य नभएको बताउदै माओवादी सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मारिएको भनिए पनि उनले ५ हजारको जिम्मा आफुले लिन सक्ने बताएका थिए ।