प्रदेश १ को नाम ‘कोशी’ राख्ने सहमति, आजै नामाकरण गरिँदै

 प्रदेश १     २०७९, १७ फाल्गुन बुधबार ०९:२९     81 जनाले पढ़िसके



Spread the love

काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दैछ । आज बिहान ११ बजे बस्ने बैठकमा प्रदेश नामकरणको विषयले प्रवेश पाउने भएको छ ।

गठन भएको पाँच वर्षपछि प्रदेश १ को संसद्ले आफ्नो प्रदेशको नामाकरण गर्न लागेको हो । स्रोतका अनुसार प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्तावसहित आजको प्रदेशसभा बैठकमा प्रस्ताव पेस गर्ने र पारित गर्ते तयारी छ ।

‘कोशी प्रदेश’ राख्नेमा सत्ता पक्ष र विपक्षी दलहरुबीच सहमति भइसकेको माओवादी नेताहरू बताउँछन् । अघिल्लो संसद्मा प्रदेशको नामकरणको विषयमा टुङ्गो लगाउन दलहरुबीच पटक पटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको थिएन ।

नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा र जसपाबीच केन्द्रका शीर्ष नेताहरूको सहमति र सुझावको आधारमा ‘कोशी’ नामकरण गर्ने सहमति भएको स्रोतले बतायो ।

प्रदेशको नामकरणको टुङ्गो लगाउन प्रदेशसभाको दुई तिहाइ मत चाहिन्छ । प्रदेश १ मा ९३ जना सांसद् छन् । दुई तिहाइ पुग्न ६३ जना सांसद चाहिन्छ । प्रदेश १ प्रदेशसभामा एमालेका ४०, काँग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।

सत्तापक्ष र विपक्षमा विभाजित हुँदा कसैको पनि दुई तिहाइ मत पुग्न सक्ने सम्भावना कम रहेको कारण सर्वसहमतिमा नामकरणको टुङ्गो लगाउने तयारी गरिएको नेताहरू बताउँछन् ।