उनले थपे, ‘सम्मानीय प्रधानमन्त्रीज्यूले राष्ट्रपतिको उम्मेदवार सर्वसम्मतरूपमा चयन गरौं भनेका छन् । हाम्रो अध्यक्ष र पार्टीलाई त्यो अवसर प्राप्त हुँदा अस्वीकार गर्ने कुरा भएन । अध्यक्ष (माधव नेपाल)लाई त्यसका लागि अघि सार्ने दाबी र अनुरोध छ ।’
पुरानो गठबन्धन ब्यूँताउने विषयमा भने छलफल नभएको दावी उनले गरे । तीन दलको छलफल निष्कर्षविहीन भएपछि सो विषय तत्कालका लागि स्थगित भएको छ । बैठकमा राष्ट्रपतिका विषयमा छलफल भएको तर, कुनै ठोस निर्णयमा पुग्न भने नसिकएको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जानकारी दिए । शुक्रबारसमेत बैठक बसेर टुंगोमा पुगिने उनले बताए ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत सहभागी थिए । यसैगरी, जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ थिए भने एकीकृत समाजवादीबाट अध्यक्ष नेपालसहित प्रमेश हमाल, बेदुराम भुसाल, घनश्याम भुसाल र प्रकाश ज्वाला सहभागी थिए ।
यता एमालेले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिका लागि प्रस्ताव गरेको छ । एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले नेपालसँग भेटेर पार्टी एकतासहित राष्ट्रपति बनाउन सहयोग गर्न सकिने बताएका हुन् । केही दिनअघि अध्यक्ष ओलीले पनि उक्त प्रस्ताव गरेका थिए ।
यसैबीच एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक शनिबार बिहान ९ बजे बस्ने बताइएको छ । राष्ट्रपति निर्वाचनका लागि मनोनयअघि एमालेले सचिवालय बैठक बोलाएको हो ।
राष्ट्रपतिका लागि सत्तारुढ गठबन्धनभित्र खटपट भइरहेकाले १० पुसको सहमति पालना नगरे सरकारबाट बाहिरिने चेतावनी एमालेले दिएको छ । एमालेका सचिव योगेश भट्टराईले रुकुम पश्चिममा पुगेर माओवादीले १० पुसको सहमति पालना नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।
राष्ट्रपति निर्वाचनको मिति नजिँक्दै जाँदा शीर्ष नेताहरूको आन्तरिक छलफल तिब्ररुपमा भईरहेको छ । राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हँुदै छ । प्रमुख दलका शीर्ष नेता आ–आफ्नै रणनीतिअनुसार अगाडि बढ्न खोज्दा सहमति जुट्न सकिरहेको छैन ।