चिकित्सक कुट्ने प्रहरीलाई कारबाही नगरे चिकित्सक संघले आन्दोलन गर्ने

 संवाददाता    २०७९, २८ माघ शनिबार १३:४२     102 जनाले पढ़िसके



Spread the love

काठमाडौं : ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहमाथि कुटपिट गर्ने प्रहरीलाई २४ घन्टाभित्र कारबाही नगरे नेपाल चिकित्सक संघले कडा आन्दोलन गर्ने भएको छ।
संघले डा सिंहलाई आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्न २४ घन्टाको समय दिएको हो।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ’ २४ घण्टाभित्र दोषीमाथि कानूनी कारवाही नगरिएको अवस्थामा देशभरका चिकित्सक, स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षाका निम्ति नेपाल चिकित्सक संघले मिति २०७९ माघ २८ गते केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकको आयोजना गरी आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न सक्नेछ।’

संघले कुटपिट गर्ने प्रहरीमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संसोधन) ऐन २०७९ अनुसार कारबाही गर्नसमेत माग गरेको छ।

शुक्रबार राष्ट्रपति संसदमा सम्बोधन गरेर फर्कने क्रममा उनको सुरक्षार्थ खटिएका वीर अस्पतालबाहिर प्रहरीले डा सिंहमाथि लाठी चार्ज गर्दा उनी घाइते भएका छन्। उनको टाउको र हातमा चोट लागेको छ।