आफूलाई प्रतिनिधि सभा सदस्यमा स्वतः निर्वाचित भएको घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा निवेदन दिएका छन्।
आइतबार निर्वाचन आयोग पुगेर श्रेष्ठले निवेदन दिएका हुन्। उनी मंसीर ४ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन–२ बाट रवि लामिछानेसँग पराजित भएका थिए।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएका कारण सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको छ। उनी नेपाली नागरिकता नलिएका कारण प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन अयोग्य रहेको सर्वोच्चको ठहर थियो।
त्यसैलाई आधार बनाएर श्रेष्ठले निर्वाचन आयोगमा निवेदन दिएका हुन्। लामिछाने उम्मेदवार हुन अयोग्य रहेको सर्वोच्चले ठहर गरिसकेकाले अब आफूलाई स्वतः प्रतिनिधि सभा सदस्य निर्वाचित भएको घोषणा गर्नुपर्ने श्रेष्ठले माग गरेका छन्।