नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय पुगे रवि

 संवाददाता    २०७९, १५ माघ आईतवार ११:५७     80 जनाले पढ़िसके



Spread the love

काठमाडाैँ – नेपाली नागरिकता लिनकाे लागि रवि लामिछाने जिल्ला प्रशासन कार्यालय, काठमाडाैँ पुगेका छन्।

सर्वाेच्च अदालतले शुक्रबार साँझ उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेकाे नागरिकता अवैध भएकाे फैसला गरेपछि उनी पुन: नागरिकता लिनका लागि आज बिहान त्यहाँ पुगेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका उनीकाे नागरिकता अवैध ठहर भएसँगै उनी आफ्नाे सबै पद तथा जिम्मेवारीबाट च्यूत भएका छन्।

२०५० सालमा नेपाली नागरिकता लिएका लामिछानेले २०७० सालमा लिएको अमेरिकी नागरिकता २०७५ सालमा त्याग गरेका थिए।

अमेरिकी नागरिकता त्यागेको निस्सा जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा पेस गरी नेपाली नागरिकताको पुनः प्राप्ति प्रक्रिया लामिछानले नअपनाएको भन्दै अदालतको उत्प्रेषण आदेशले लामिछानेको उम्मेदवार कायम गर्ने, निर्वाचित भएको घोषणा गर्ने, प्रमाण दिने सबै कार्य बदर भएको छ।

नेपाली नागरिकता ऐन २०६३ को दफा १० मा आफूखुसी विदेशी नागरिकता लिएमा वा एकैसाथ विदेशी र नेपाली नागरिक हुने स्थितिमा नेपाली नागरिकता नरोजेमा नेपाली नागरिकता कायम नरहने स्पष्ट प्रावधान रहेको छ।

रविले आज नागरिकता लिएर पुन: चितवन-२ बाटै उम्मेदवारी दिने तयारीमा छन्। यद्यपि निर्वाचन आयाेगले भने निर्वाचनकाे तयारीका लागि केही समय लाग्ने बताएकाे छ।