अध्यागमनको ‘सर्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित, २ घण्टा पछि अहिले केही सुचारु

 संवाददाता    २०७९, १४ माघ शनिबार १७:४८     64 जनाले पढ़िसके



Spread the love

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको ‘सर्र्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय हवाइ उडान प्रभावित भएको छ। अध्यागमनको सर्भर बिग्रिँदा डेढ घण्टादेखि अन्तर्राष्ट्रिय उडान बन्द भएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए।

‘सर्भर डाउन छ, अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन। भित्रिने र बाहिरिने यात्रु जो जहाँ छन् त्यहीँ रोकिएका छन्, जहाज उड्न पाएका छैनन्’, उनले भने।

महाप्रबन्धक ठाकुरले ‘म्यानुअल्ली’सञ्चालनका लागि आफूले आग्रह गरे पनि ‘अथोरिटी’ नभएको भन्ने जानकारी प्राप्त भएको बताए। यसअघि पनि यस्तो समस्या आउने गरेको उनले बताए।

विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडानका फ्लाई दुबई, इन्डिगो एयर इन्डियालगायत एयरलाइन्सका जहाजको उडान रोकिएको तर भर्खरै आएको विवरण अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ। विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले ‘म्यानुअल्ली’ रुपमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ।

‘अहिले म्यानुअल्ली रुपमा उडान सामान्य रुपमा भइरहेको छ’, उनले भने, ‘सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको अध्यागमन कार्यालयले जानकारी दिएको छ।’

अहिले जहाज उडान तथा अवतरणमा कुनै समस्या नभएको उनको भनाइ छ। यात्रुको व्यवस्थापनमा केही समस्या भएको र विमानस्थलमा यात्रुको भिड बढेको उनले जानकारी दिए।