वसन्त श्रवणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हनुमानढोका पुगेका छन् ।
बिहीबार वसन्त पञ्चमी हो । यस दिन हनुमाढोकास्थित नासल चोकमा वसन्त श्रवण मनाइएको छ । वसन्त श्रवणमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, सभामुख, सांसदहरू, संवैधानिक अंकका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति थियो ।
सरस्वती पूजाको अवसरमा राष्ट्रपतिले वसन्तपुर पुगेर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । यो प्रचलन राजा प्रताप मल्लको पालादेखि नै हुँदै आएको पाइन्छ । सोही परम्पराअनुसार नासलचोक पुगेकी राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामीसमेत अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरेको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरेकी छन् ।
वसन्त श्रवण समारोहमा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति पुन, प्रधानमन्त्री दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाको उपस्थिति रहेको थियो । वसन्त पञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ ।
वसन्त पञ्चमीको दिनमा वसन्त श्रवण गरेमा मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने शास्त्रोक्त कथन छ । वसन्त पञ्चमीको दिनबाट वसन्त ऋतु सुरुवात भएको मानिन्छ भने यस दिनबाट नै संसारको स्वरूपले नै नयाँ रूप लिने विश्वास रही आएको छ ।




