काठमाडौँ । एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले संविधानमा भएको व्यवस्थाको कुतर्क गर्ने अवस्था सिर्जना भएको भन्दै संविधानमा भएको व्यवस्था पढाउनका लागि कोचिङ कक्षा सञ्चालन गर्नुपर्ने बताएका छन् ।
शनिवार उपसभामुखको निर्वाचनको क्रममा प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद मुक्ताकुमारी यादवलाई उपसभामुखमा समर्थन गर्दै उनले संविधानको आफू अनुकूल ब्याख्या हुने भएकोले त्यसलाई रोक्न कोचिङ कक्षा चलाउन आग्रह गरे । त्यसका लागि संसदमा बजेटको व्यवस्था नभए आफ्नो सेवा सुविधाबाट कटौती गर्न आग्रह गरे ।
नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले सभामुख देवराज घिमिरेलाई बधाई पनि दिएका छन् ।
शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘…कसैको यस म्यान बन्नुहुने छैन भन्ने शुभेच्छा व्यक्त गर्न चाहन्छु ।’चौधरीले पार्टीका तर्फबाट उपसभामुखमा कांग्रेसकी मुक्ताकुमारी यादवलाई समर्थन गरे । समर्थकको रुपमा बोल्दै उनले भने, ‘मुक्ताकुमारी यादव उपसभामुखको हकदार हो ।’
प्रतिनिधिसभामा शनिबार उपसभामुखको निर्वाचन हुँदैछ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर र कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार छन् । इन्दिरालाई सत्तारुढ दलको समर्थन छ भने मुक्ताकुमारीलाई सरकारमा नरहेका दलको समर्थन छ ।