पोस्टमार्टम सकियो, पाँच शवको डीएनए गर्नुपर्ने

 #दुर्घटना     २०७९, ७ माघ शनिबार १२:१९     91 जनाले पढ़िसके



Spread the love

पोखरा विमान दुर्घटना

काठमाडौँ । गत आइतबार पोखरामा भएको विमान दुर्घटनाका मृतकमध्ये काठमाडौँ ल्याइएका ४९ वटै शवको पोस्टमार्टम सकिएको छ । पोस्टमार्टम सकिए पनि ४९ वटै शवको पहिचान भने हुन सकेको छैन ।

त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले शुक्रबार रातिसम्ममा सबै शवको पोस्टमार्टम सकिएको जानकारी दिए । उनले त्रिवि शिक्षण अस्पतालमा भएको फरेन्सिक विज्ञहरूको टोलीले मात्र पोस्टमार्टम गर्न असम्भव भएपछि पाटन, भरतपुर, भक्तपुरलगायतका अस्पतालबाट फरेन्सिक विज्ञको टोली ल्याएर पोस्टमार्टम सकिएको जानकारी दिए ।

डा. चौधरीका अनुसार शुक्रबार थप दुईवटा शवको पहिचान भएको छ । ती दुई शव रसियन नागरिक रहेका छन् । रसियन नागरिकको शव आफन्तले बुझिसकेका छन् ।

अघिल्लो दिनसम्म २५ जनाको शव पोस्टमार्टम भएको थियो । तीमध्ये १६ शवको पहिचान भएको थियो । १६ शवमध्ये १२ शव आफन्तले बुझेका थिए । ‘पोस्टमार्टम सकिएको छ,’ फरेन्सिक विभाग प्रमुख डा. चौधरीले भने, ‘अब शनिबारबाट शव पहिचानमा लाग्नेछौं।’ उनका अनुसार हालसम्म १८ जनाको मात्र शव पहिचान भएको छ ।

शनिबार बेलुकीसम्म कतिवटा शवको डीएनए परीक्षण गर्नुपर्ने हो त्यसको विवरण आउने बताए । उनले पाँचवटा शवको डीएनए परीक्षण गर्नुपर्ने हुन सक्ने पनि बताए ।

पोखराबाट २५ वटा शवको प्रहरीले नाम लेखेर पठाएको थियो । उनले पहिचान भएका शवमध्ये मृतकका शरीरमा भएका ट्याटु, चेन, गहना, लुगा, घडीलगायतको सामग्रीका आधारमा पहिचान गरिएको जानकारी पनि दिए ।