प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको २९औँ साधारणसभाको आज काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा राखेर काम गर्ने बताएका हुन् ।
‘म दोस्रोपटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीको हितका पक्षमा केही महत्वपूर्ण काम गरेको थिएँ । विदेशमा रहेका नेपालीहरूको बीमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धिलगायत महत्वपूर्ण काम भएका थिए । यसपटक विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्नुछ, म त्यो गर्छु,’ प्रधानमन्त्रीले भने ।
उनले आफ्नो तेस्रो कार्यकाल मुलुकको विकास, समृद्धि र सुशासनका निम्ति चुनौतीपूर्ण अवसर भएको बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘देशलाई केही दिनैपर्ने परिस्थितिमा प्रधानमन्त्री भएको छु, देशलाई केही न केही परिणाम दिनुछ र दिन्छु ।’कार्यक्रमका सहभागीले वैदेशिक रोजगारीमा रहेका समस्या, विकृति तथा विसङ्गतिको अन्त्य गर्दै मर्यादित व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।