सत्ता साझेदार दलका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले उपसभामुख पदमा मनोनयन दर्ता गरेकी छन् । सत्ता गठबन्धनमा रास्वपालाई उपसभामुख भाग परेको थियो ।
मगरको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा नेकपा माओवादी केन्द्रका नारायणी शर्मा, राप्रपाका राजेन्द्र लिङ्देन र एमालेका कृष्णगोपाल श्रेष्ठ रहेका छन् । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग बोल्दै मगरले जनताको हितमा निर्णायक भूमिका खेल्ने बताइन् । आफू सडकमा कराइराख्ने भुँइमान्छे भए पनि पार्टी र गठबन्धनबाट साथ पाएको उनले बताइन् । प्रतिनिधिसभाको शनिबार बस्ने बैठकमा उपसभामुख चयनका लागि मतविभाजन हुनेछ । सभामुखमा सत्ता गठबन्धनको समर्थनमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।