प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मन्त्रिपरिषद् विस्तारका विषयमा दाहाल र ओलीबीच मोटामोटी सहमति बनेको जनाएको छ।
दुवै जनाबीच भएको सहमतिलाई सत्तारुढ गठबन्धन दलका नेताको बैठकमा प्रस्तुत गरिने भएको छ। त्यसपछि मन्त्रिपरिषद् विस्तार गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
दाहाल यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। त्यहि दिन उनले सानो आकारको मन्त्रिपरिषद् गठन गरेका थिए।
आगामी माघ ५ गते प्रतिनिधि सभाको सभामुखको निर्वाचन हुँदै छ। नेपालको संविधानको धारा ९१ को उपधारा १ मा प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ।
सभामुख र उपसभामुको निर्वाचनका विषयमा पनि प्रधानमन्त्री दाहाल र ओलीबीच छलफल भएको छ। यस विषयमा पनि गठबन्धनको बैठकबाट निर्णय गरिने जनाइएको छ।