काठमाडौं– बलात्कार घटनामा जोडिएका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालतले २० लाख धरौटी बुझाएर रिहा गर्ने आदेश दिएको छ।
उच्च अदालत पाटनका सूचना अधिकारी दिनेश पौडेलले दिएको जानकारी अनुसार उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई धरौटीमा रिहा गरेको हो ।
उच्च अदालतको उक्त आदेशसँगै अब सन्दीप कारागारमुक्त हुनेछन् । अदालतले तोकेको धरौटी बुझाएपछि लामिछाने रिहा भएर मुद्दा लड्नेछन् ।
सन्दीपले भदौ ६ गते जबरजस्ती करणी गरेको भन्दै किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। जाहेरी परेको एक महिनापछि सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।
कात्तिक १८ गते जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
त्यसविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिँदै आफूलाई थुनामुक्त गरेर मुद्दाको अन्तिम किनारा लगाउन माग गरेका थिए।