संसदमा यसरी असाधारण मत पाउँछु भन्ने सोचेको थिइनँ– प्रधानमन्त्री प्रचण्ड

 प्रधानमन्त्री     २०७९, २६ पुष मंगलवार १६:४८     85 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा अपार समर्थन पाउँछु भनेर आफूले कहिल्यै नसोचेको बताएका छन् ।विश्वासको मतसम्बन्धी प्रस्तावमा नेमकिपा र राष्ट्रिय जनमोर्चाबाहेक सबै दलको समर्थन पाउने भएपछि मंगलवार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रचण्डले समर्थनप्रति सबैलाई धन्यवाद दिएका हुन् ।

‘सिंगै हाउस विश्वासको मतको पक्षमा हुन्छ भनेको थिएँ । थाहा भएर वा जानेर भनेको थिइनँ । विचार, भावना र चाहनालाई व्यक्त गरेको थिएँ,’ प्रचण्डले भने, ‘असाधारण मत प्राप्त गरेको छु । अपार विश्वास र समर्थनलाई न्यायपूर्ण ढंगले निभाउन सक्छु होला भन्ने विषय मेरो मनमा खेलेको छ ।’

राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीबाहेकको समर्थन पाउने कुरा नसोचेको उनले बताए ।

‘प्राप्त विश्वासलाई सही तरिकाले व्यवस्थापन गर्न र न्यायोचित ढंगले अगाडि बढाउन सकिएन भने अप्ठ्यारो पनि हुन सक्छ,’ उनले थपे, ‘सबै पक्षबाट विचार गर्दा जे अपिल गरें, त्यो अपिलको निकै सकारात्मक र उत्साहबर्धक जवाफ प्राप्त भएको छ । सबैप्रति हार्दिक आभार व्यक्त गर्छु ।’

१६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई त्यसबाहेक पनि ८९ सीट रहेको कांग्रेस, १० सीट रहेको नेकपा एस र ४ सीट रहेको लोसपाले समेत सघाउने भएका छन् ।