राष्ट्रपति, उपराष्ट्रपति र रिक्त राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्वाचन आयोगलाई आग्रह

 प्रधानमन्त्री     २०७९, १८ पुष सोमबार १२:५०     82 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त राष्ट्रिय सभा सदस्य पदको चुनावका लागि आवश्यक प्रक्रिया सुरू गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्।

आज सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको १ स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरुसँग प्रधानमन्त्रीले आग्रह गरेका हुन्।

रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस्, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरुबीच छलफल गर्छौँ र हामी एउटा निष्कर्षमा पुगौंला,’ उनले भने।

स्थानीय तहको निर्वाचन, प्रदेश सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री प्रचण्डले आयोगका पदाधिकारीहरूलाई धन्यवाद पनि दिएका थिए।