काठमाडौं : नेपाली कांग्रेसले माओवादी केन्द्रलाई फकाउन अन्तिम कसरत गरेको छ। आइतबार बिहान कांग्रेस नेता विमलेन्द्र निधि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई फकाउन खुमलटार पुगेका छन्।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमत पुर्याएर प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोकेकी छन्। तर गठबन्धनको शनिबार बसेको बैठकमा कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्व पहिले आफूले गर्न पाउनुपर्ने दाबी दोहोर्याएकाले सहमति हुन सकेको छैन। भेटमा निधि र प्रचण्डबीच नयाँ सरकार गठन, सत्ता समीकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ।
निधिले प्रचण्डलाई प्रधानमन्त्रीको दाबी छोड्न आग्रह गरेका छन्। उनले गठबन्धन जोगाएर अगाडि बढ्न आफ्नो दाबी छोडेर सहमतिमा आउन आग्रह गरेका छन्। स्रोतले भन्यो, प्रचण्डले प्रधानमन्त्रीको दाबी नछोडेको खण्डमा नेपाली कांग्रेसले एमालेसँग सहकार्यका गर्ने जानकारी गराएका छन्।
माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनमार्फत गठबन्धन छोड्ने धम्की दिएपछि नेपाली कांग्रेसले एमालेसँग संवाद अगाडि बढाएको छ। गठबन्धको बैठकलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता विमलेन्द्र निधिलाई शनिबार साँझ बालकोट पठाएका थिए।
प्रधानमन्त्री बन्ने विषयलाई लिएर गठबन्धनभित्र भइरहेको खिचातानीका विषयमा निधिले अध्यक्ष ओलीसँग ब्रिफिङ गरेको स्रोतले बताएको छ। निधिले सम्भावित समीकरणका लागि एमालेसँग छलफल गर्न कांग्रेस तयार रहेको प्रधानमन्त्रीको सन्देशसमेत ओलीलाई सुनाएका थिए। उनीहरूबीच एमाले र कांग्रेसको सम्भावित सत्ता समीकरणबारे छलफल भएको स्रोतको दाबी छ।