काठमाडौं : नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्दैछ। दिउँसो ४ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकले दलको नेता चयन गर्ने सांसद रेखा शर्माले जानकारी दिइन्।
प्रधानमन्त्रीको दाबेदारका रुपमा पनि प्रस्तुत गर्दै आएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै दलको नेता बन्ने निश्चित छ। सांसद शर्माले अरुको दाबी नरहेको र प्रचण्ड नै सर्वसम्मत दलको नेता चयन हुने जानकारी दिइन्।
प्रतिनिधिसभामा माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित १८ र समानुपातिकका १४ गरी ३२ जना सांसद रहेका छन् । नेपाली कांग्रेसबाहेक अरु दलले सर्वसम्मत दलको नेता चयन गरेका छन्। कांग्रेसले हिजो चुनावी प्रक्रियामार्फत् सभापति शेरबहादुर देउवालाई दलको नेता निर्वाचित गरेको थियो।
माओवादी केन्द्रको संसदीय दलको नेता चयनसँगै सत्ता गठबन्धनले औपचारिक रुपमा सरकार गठनको प्रक्रिया अघि बढाउने तयारी छ। कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भए पनि दुवै नेताले पहिलो कार्यकाल दाबी गरेपछि कुरा मिल्न सकेको छैन।