सादा पोसाकका प्रहरीले गगन थापाको ‘निगरानी’ गरेको आरोप, समर्थकले समाते दुई प्रहरी

 काँग्रेस     २०७९, ६ पुष बुधबार ०८:२९     113 जनाले पढ़िसके



Spread the love

काठमाडौं । कांग्रेस संसदीय दलको नेताका लागि उमेदवारी दिएका महामन्त्री गगन थापाका गतिविधि निगरानी गरेको भन्दै उनका समर्थकले दुईजना प्रहरीलाई समातेका छन् ।

मंगलबार राति गगन बसेको लाजिम्पाटको एक होटेल बाहिर‍ साधा पोसाकमा प्रहरी खटिएको पाइएको गगन निकट सबिन मुडभरिले बताए ।

उनका अनुसार गगनका समर्थकले साधा पोसाकमा रहेका दुईजनालाई समातेका थिए । खोजतलास गर्दा उनीहरूको साथबाट प्रहरीको परिचयपत्र भेटिएको उनको भनाई छ ।

“आज दाइ (गगन थापा)लाई दुई–तीनपटक डिस्ट्रब भयो । कहाँ गइरहेको छ, कसलाई भेटेको छ, के गरिरहेको छ भनेर निगरानी गरेकोजस्तो देखियो । दाइले आईजीपीलाई नै फोन गर्न खोज्नुभएको थियो, उठेन ।”

संस्थापन पक्षले आफूहरूका गतिविधि निगरानीका लागि प्रहरी खटाएको हुनसक्ने समर्थकको आरोप छ ।

तर, नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले भने घटनाबारे आफूलाई जानकारी नभएको बताए ।

“हामीलाई त्यस्तो कुनै जानकारी छैन । संलग्न रहेको पाइए छानबिन गरेर कारबाही हुन्छ,” प्रवक्ता राईले भने ।