काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वामपन्थी सरकार बनाउने कुरा अलमल्याउने कुरामात्रै भएको बताएका छन ।
आज सोमवार पार्टी केन्द्रीय कार्यालयमा भएको नवनिर्वाचित सांसदलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले कसैको पनि बहुमत नआएकाले कस्तो सरकार बन्छ भन्ने आम चासाेको विषय भएको भन्दै अबको एक हप्तामा सरकार कस्तो बन्ने भन्ने थाहा हुने बताए। अध्यक्ष नेपालले भएकाको विश्वास गुमाउने र हुँदै नभएको विश्वास गरेर घर न घाटको हुने गल्ती आफूले नगर्ने पनि बताए। उनले गठबन्धनका पार्टी र अरू नेताहरूमा अहङ्कार भए वा उनीहरूलाई गठबन्धन नचाहिए त्यसको सामना गर्न पनि आफू तयार रहेको उल्लेख गरे ।
उनले भने, ‘कसैको पनि बहुमत नभएको हुनाले कस्तो सरकार बन्ला भन्ने कुरा चासोको विषय छ । कसैले गैरवामपन्थी सरकारको कुरा उठाउने गरेको छ, त्यो पनि खाली पुलावमात्रै हो । कसैले वामपन्थीको मात्रै सरकार बनाऔँ भनेर सोचिरहेको छ, त्याे पनि अलमल्याउने कुरामात्रै हो । भएकाको विश्वास गुमाउने र हुँदै नभएको विश्वास गरेर घर न घाटको हुने गल्ती हामी गर्दैनौँ । त्यसैले हामी गठबन्धनलाई कायम राख्नेछौँ ।’
अध्यक्ष नेपालले वर्तमान राजनीतिमा व्यापकरूपमा व्यक्तिवाद हाबी भएको बताए । उनले आफूले पाएपछि सबै ठिक नपाए सबै बेठिक भन्ने परम्परा हाबी भएको भन्दै पद र पैसाले मानिसलाई भ्रष्ट बनाउँदै लगेको बताए । उनले यसको विरुद्धमा विशाल वैचारिक अभियान चलाउनुपर्ने उल्लेख गरे । अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीलाई परित्याग गरेर जनताको विश्वास जित्न नसक्ने बताए ।
अध्यक्ष नेपालले अहिलेको चुनावमा नेपाली राजनीतिमा दक्षिणपन्थी शक्तिहरूले आफ्नो शक्ति आर्जन गर्नु चुनौतीको विषय भएको बताए । उनले गणतन्त्रका विरुद्धमा राजतन्त्रलाई फेरि पुनर्स्थापित गर्ने कुराको पक्षमा कुनै कदम नचाल्न चेतावनी दिए । उनले समस्या भन्ने भन्दा पनि त्यसको समाधान कसरी गर्ने भन्ने कुराको खोजी गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।
अध्यक्ष नेपालले देशमा भ्रष्टाचार व्याप्त भएको भन्दै भ्रष्टाचार गर्ने कोही पनि नेतालाई पार्टीले छुट नदिने बताए । उनले अहिले गठबन्धनकै भरमा चुनावमा प्रतिस्पर्धा गरेकाे भन्दै सिट विभाजनमा आफ्नै गुनासा भए पनि चुनावकाे आवश्यक समीक्षा गर्न आवश्यक रहेको बताए । गठबन्धनमा अरूले नाेक्सानी बेहाेरे पनि कांग्रेसले फाइदा लिएको गुनासाे गरे । फोटो : फाइल