काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्ष पनि आफ्नो २८ औँ महानगर दिवस विगतका वर्षमा झैं यही मङ्सिर २९ गते मनाउने भएको छ । २८ औँ महानगर दिवसलाई महानगरवासीले आफ्नै दिवसको रुपमा मनाउन सकुन भन्ने अभिप्रायले सप्ताहव्यापी कार्यक्रमहरु संचालन भइरहेको छ । महानगरको २८ औँ महानगर दिवसमा महानगरपालिकाका मेयर बालेन्द्र शाहले शहरी विकास मन्त्री मेटमणी चौधरीलाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा दिएका छन् । महानगर दिवसलाई बृहत र भव्य रुपमा सञ्चालन तथा व्यवस्थापन गर्ने योजनालाई सफलतापुर्बक सम्पन्न गर्न प्रमुख अतिथिको रूपमा गरिमामय उपस्थितिको लागि शहरी विकास मन्त्री मेटमणि चौधरीलाई बालेन शाहले निमन्त्रणा गरेका छन् ।
काठमाडौ महानगरपालिकाले यस वर्ष पनि वार्षिकोत्सव विशेष कार्यक्रमअन्तर्गत अनलाइनमार्फत सेवाग्राही सर्वेक्षण, बाजागाजामा युवाको रुचि बढाउन धिमे बाजा प्रतियोगिता, चित्रकला र निबन्ध लेखन, शिक्षकस्तरका वक्तृत्वकला प्रतियोगिताजस्ता कार्यक्रम गर्ने भएको छ ।
त्यस्तै विगतकै कार्यक्रमलाई निरन्तरता दिँदै गुरुहरुको सम्मान, कला प्रवद्र्धनको लागि प्रतियोगात्मक चित्रकला प्रदर्शनी, महिला, उद्यमी मेला, खुला क्षेत्रको सरसफाइ, स्वास्थ्य शिविर सञ्चालन, खेलखुद तथा मनोरञ्जन , सम्पदा तथा संस्कृतिक प्रबर्द्धन, जनचेतनामूलक सडक नाटक, विपद व्यवस्थापनको कृतिम अभ्यास कार्यक्रमलाई पनि समेट्ने प्रयास गरेको छ । विसं २०५२ मा मङ्सिर २९ गते तत्कालीन काठमाडौँ नगरलाई महानगर घोषणा गरेपछि हरेक वर्ष मङ्सिर २९ लाई महानगर दिवसको रुपमा मनाउने गरिएको हो ।