कैलाली- प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम महोत्सवको उद्घाटन गरेका छन् । देउवाले बिहीबार कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा आयोजना गरिरहेको महोत्सवको उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले महोत्सवले समग्र सुदूरपश्चिमको आर्थिक, सामाजिक, सांस्कृतिक पक्षको उजागर गर्ने बताए ।
आफ्नै पालामा बहुचर्चित पश्चिम सेती र पंचेश्वर परियोजनाले गति लिने बताउँदै प्रधानमन्त्री देउवाले अब देश विकासको गतिमा अघि बढ्ने उल्लेख गरे ।
गेटा मेडिकल कलेज सञ्चालन, चिसापानीदेखि कंचनपुरको गड्डाचौकीसम्मको सडक स्तरोन्नति, भारतसँग सीमा जोडिएको कैलालीको गौरिफंटा नाकाको स्तरोन्नति लगायतका विकास निर्माणले अब गति लिने प्रधानमन्त्री देउवाकाे भनाइ छ ।
यसअघि संघले प्रधानमन्त्री देउवासमक्ष विभिन्न १५ ओटा मागहरू राखी १५ किलोको माला लगाएका थिए ।
सुदूरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यापार व्यवसाय र कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सङ्घले महोत्सव आयोजना गरेको हो । महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ ।