काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सस्तो लोकप्रियताका लागि नेतृत्व तहले वृद्ध भत्तालाई छिटो–छिटो दिने निर्णय गरिरहेको बताएका छन्। आज बिहीवार आर्थिक पत्रकार समाज (सेजन)को २६ औँ वार्षिकोत्सवमा बोल्दै महामन्त्री थापाले सो कुरा बताएका हुन्।
महामन्त्री थापाले राजनीतिक दलहरूले अबका दिनमा ५० वर्षमा नै वृद्ध भत्ता पाउने व्यवस्था गर्नसक्ने प्रतिस्पर्धा चलिरहेको बताए। उनले नयाँ प्रधानमन्त्रीले आउँदो एक वर्षमा कसरी देशको अर्थतन्त्रलाई सुधार गर्न सकिन्छ भन्नेबारेमा सोचेरमात्रै नेतृत्व लिनुपर्ने बताए। पछिल्लो समय पालिकामा समेत कसले धेरै पैसा बाँड्ने भन्ने प्रतिस्पर्धा भइरहेको उनले उल्लेख गरे।
‘मलाई त अब प्रतिस्पर्धाको बेलामा ५० वर्षमा नै वृद्ध भत्ता दिन्छन् कि जस्तो लागेको छ। प्रतिस्पर्धा भनेको छ, देखाइदिन्छौँ भनेको छ, मजस्तो नयाँ आउने प्रधानमन्त्रीले नेपालमा एक वर्षभित्रमा मैले कति नयाँ रोजगारी सिर्जना गर्छु?’ महामन्त्री थापाले भने, ‘कति सेक्टरमा र डिसेन्ट पे पाउने रोजगारी सिर्जना गर्छु भन्ने कुरालाई मानक बनाउनुपर्ने हो। भाष्य नै हामीले गलत बनाएका छौँ । माथिबाट सरेर अहिले स्थानीय सरकारमा पनि गएको छ । स्थानीय सरकारमा पनि कसले कति बाँड्ने भन्ने प्रतिस्पर्धा छ।’
उनले निजी क्षेत्र र सरकारबीच समन्वयको खाँचो रहेको बताए। उनले दिगो आर्थिक विकासका लागि आर्थिक एजेन्डामा निजी क्षेत्रसँग सरकारको नाता नदीको दुई किनाराजस्तो भएको बताए। उनले अब बन्ने सरकारले देशको अर्थतन्त्रलाई चलायमान बनाउन प्रधानमन्त्रीले आँट गरेर नै निजी क्षेत्र र सरकारसँगको सम्बन्धलाई सुदृढीकरण गर्न आवश्यक रहेको बताए।